Saturday, August 2, 2008

नेपाली चलचित्र - एक विश्लेषण


सन् पचासको दशक आईपुग्दा जहाँ भारतीय चलचित्रको सुरुवात हुन लागेको मात्र थियो, तब पहिलो नेपाली चलचित्रको प्रदर्शन भएको थियो । तर २०६४ साल सम्म आईपुग्दा जहाँ भारतीय चलचित्रले अन्तराष्ट्रिय उचाई छोईसकेका थिए, नेपालमा भने अझै पनि गुणस्तरिय चलचित्र बन्न सकेको थिएन ।
वि.स.२००८ साल, भाद्र २९ गते शुक्रवारको दिन नेपाली चलचित्रको क्षत्रमा सुर्योदय भएको थियो । यसै दिन भारतको कलकत्ताबाट भएको लगानीमा डि. बि. परियारको चलचित्र "सत्य हरिशचन्द्र" को प्रदर्शन भएको थियो । त्यस बेला भारतिय चलचित्र र नेपाली चलचित्रको प्रविधि लगभग उस्तै थियो । त्यसपछि, नेपाली चलचित्र निर्माण लगभग १३ वर्षठप्प रह्यो र पछि आएर २०२१ साल भाद्र २२ गते बुधवारको दिन नेपालकै लगानीमा पहिलो चलचित्र "आमा" निर्माण भयो जुन बेलासम्म भारतीय चलचित्र पनि श्याम स्वयत नै थियो र प्राविधिक हिसाबले पनि केहि परिवर्तन आएको थिएन । तर चलचित्र निर्माणको क्रममा भारतीय चलचित्रकर्मीहरु जहाँ गुणस्तरीय चलचित्र निर्माणमा ध्यान दिन थाले, नेपाली चलचित्रकर्मीहरु भने संख्यात्मक रुपमा धेरै चलचित्र निर्माण तिर लागे ।


वर्षथपिदैं जाँदा, संख्यात्मक रुपमा नेपाली चलचित्रको निर्माण हुनथाल्यो तर गुणस्तर भने जहाँको त्यहि रह्यो । पछि २०४२ साल देखि २०५१ साल सम्म कथित स्वणिम युगको बेला भने केहि प्राविधिक रुपमा नभएपनि विषय वस्तुको आधारमा नेपाली चलचित्रहरुमा केहि नयाँपन देखिएता पनि उल्लेखनिय रुपमा यो लामो समयसम्म रहेन । स्मरण रहोस् सो समयमा अत्याधिक चर्चित र २५ हप्ता चलेर त्यसबेला रेकड कायम गर्न सफल तुल्सी घिमिरेको निर्देशनमा बनेको "कुसुमे रुमाल" त्यति बेलाकै हिन्दी चलचित्र "मिलन"को साभारित अंश हो । यस्तै साभार गर्ने प्रवृति र अदक्ष-अन्पढहरुको भिड ओर्इर्र्रएकोले नेपाली चलचित्र क्षेत्रले कुनै फड्को मार्न सकेन । कथित स्वणिर्म युगमा अत्याधिक सफल मानिएकी नायिका करिश्मा मानन्धर चलचित्र क्षेत्रमा लाग्नु अघि गार्मेन्टमा काम गर्दथिइन् र उनले कक्षा ८ सम्म पढेकी थिइन् । यसै युगमा उनी जस्तै चलचित्रको बारेमा शुन्य ज्ञान भएकाहरुको अर्को भीड ओईरिने क्रम जारी रह्यो । देखासिकिको भरमा क्यामेराम्यान, नायक, नायिका, निर्देशक आदिको जन्मले नेपाली चलचित्र क्षेत्र अझै सेलाउँदै गयो ।


पछि चलचित्र "युग देखि युगसम्म" बाट यस क्षेत्रमा नयाँ आशा जन्मियो, जो थिए राजेश हमाल । त्यस बेला यदि राजेश हमालले चाहेका भए नेपाली चलचित्र क्षेत्रमा साँचो रुपमा सुनौलो युग आउन सक्थ्यो तर त्यसबेलाका एक मात्र पढेलेखेका नायक राजेश हमालले आफू चिच्याए चलचित्र हिट हुने फर्मुला मै चित्त बुझाए । गुणस्तरिय चलचित्रलाई प्राथमिक्ता दिएर नेपाली चलचित्रलाई माथि लैजानु कता हो कता पैसाको लोभमा कुकुरलाई भन्दा ५० हजार कम पारिश्रमिकमा पनि चलचित्र खेल्न उनी पछि परेनन् ।


अहिले कहि वर्षयता, नेपाली चलचित्र क्षेत्रमा नायक नायिकाहरु आफै चलचित्र बनाउने, हल मालिकहरु आफै चलचित्रमा लगानि गर्ने आफ्नै हालमा प्रदर्शन गर्ने,सुटिङ्गका सामान ओसार्नेहरु हावाको भरमा निर्देशक आदिको प्रचलन बढ्दो छ । कथावस्तु कता कता, १० तल्ला घरबाट हाम्फालेको, हेलिकप्टरबाट हाम्फालेको, बढि अङ्ग प्रदर्शन भएको जस्ता कुराहरुको सहायताले चलचित्रहरुको प्रचारप्रसार हुन्छ । अर्कातिर नेपाली चलचित्रकर्मीहरुसँग "किन नेपाली चलचित्र क्षेत्रमा गुणस्तरिय हिसाबले प्ररिवर्तन आउन नसकेको" भन्ने प्रश्नमा लगभग सबै नेपाली चलचित्रकर्मीहरु एउटै उत्तर दिन्छन् कि "भारतिय चलचित्रको झैं करोडौंको लगानि हुँदैन र त्यस्तो प्रविधि हामीसँग छैन" । के यो साँच्चै त्यस्तै हो त ?


नेपाली चलचित्र बन्ने पैसामा संसारका विभिन्न साना राष्ट्रहरुमा गुणस्तरिय चलचित्र बन्छन् र अर्कातिर भारतिय चलचित्रमा प्रयोग हुने ३५ एम एम को चलचित्र प्रविधिमा नेपाली चलचित्रहरु पनि बन्न थालेका छन्, तर खै त राम्रो नेपाली चलचित्र बन्न सकेको - यसले यो र्छलङ्ग हुन्छ कि नेपाली चलचित्रमा परिवर्तन आउन नसकेको अदक्ष चलचित्रकर्मीको भिडले नै हो र यहि भिडको वाहुलियताले चलचित्र क्षेत्रमा लाग्न चाहेका दक्ष जनशक्तिलाई पनि टिक्न नदिन प्रवृति गुणस्तर खस्किनुको अर्को कारण हो ।
हाल आएर नेपाली चलचित्र क्षेत्रमा अन्तराष्ट्रिय स्तरको हाई डेफिनिसन प्रविधि पनि भित्रिएको छ जुन चित्र र ध्वनि दुवैमा अत्याधिक गुणस्तरीय छ तर खैत अझै स्तरिय चलचित्र बनेको ? नयाँ प्रविधि प्रयोग भएको चलचित्र, कागबेनीको प्रविधि बाहेक अरु केहि राम्रो छ र ? कथा वस्तु र प्रस्तुतीकरणको हिसाबले यो चलचित्र भन्दा धेरै राम्रा नेपाली चलचित्रहरु दर्शकहरुले पाईसकेका छन् । कागबेनी नेपालमा नचलेको तथ्यले यो पुष्टि गर्छ कि हिमाल पहाडहरु मात्र खिचेर, बिना कुनै प्रस्तुतीकरण चलचित्र बन्दैन । भविष्यको नेपाली चलचित्रमा हाई डेफिनिसन प्रविधिले अवश्य ठूलो भुमिका खेल्नेछ तर यदि चलचित्रका अन्य पक्षहरुलाई कागबेनीले झैं बेवास्ता गरिन्छ भने नेपाली दर्शकहरुको स्तरिय चलचित्रहरु हेर्ने सपना सपनै हुनेछ ।

अर्कातिर, चलचित्र सम्वन्धी पढ्न विदेशीएका नयाँ पुष्ताहरुलाई नेपालमा आएर गुणस्तरीय चलचित्र बनाउने मौका पनि अहिलेका अदक्ष चलचित्रकर्मीहरुको भिडले त्यति सजिलै दिने सम्भावना अवश्य छैन । जस अन्तरगत अदक्षहरु हलका मालिकहरुसँग मिलेर गुणस्तरीय चलचित्र प्रदर्शन हुनै नदिने एक उदाहरणको रुपमा देखापर्न सक्छ । यदि नेपाली चलचित्रमा यस्तै प्रथाले निरन्तरता पाउने हो भने, नेपाली चलचित्र क्षेत्रको भविष्य अन्धकार छ ।


गुणस्तरीय र राम्रो नेपाली चलचित्रलाई माया गरौं ।

No comments: