Wednesday, October 29, 2008

कुनै गलत क्षेत्रमा त जीवन समर्पित गरिन - दिपक आलोक

यो एक चलचित्रकर्मीको जीवन साच्चै एक चलचित्र जस्तै बनेको कथा हो - आफ्ना चलचित्रहरुमा कति चोटि त आफुले नै सृजना गरेका पात्रहरुले मृत्युसँग लडेर जितेका परिवेशहरु पनि बनाए हो लान् दिपकले । तर आज उनी आफै मृत्युको अगाडी शीर झुकाएर बसेका छन् ।

आफ्नो जीवनको ३० वर्षभन्दा बढी कला र साहित्य क्षेत्रमा सुम्पिएका दिपक, आज पैसाको अभावमा मृत्युसँग लड्दै छन् । साहित्यमा पोख्त दिपकले केहि स्तरीय चलचित्रहरु लेखन र निर्देशनको लागि वाहवाइ पनि लुटेका थिए । त्यसबेला, उनको पछि लागेर हिड्नेहरु पनि धेरै थिए, उनका साथीभाईहरु पनि धेरै थिए । तर ति सब पछि लागेर हिड्नेहरु र घनिष्ठ साथीभाईहरु आज विलाएका छन् । आज उनी खाटमा एक्लै लाचार छन् ।

दुबै मृगौलाले काम गर्न छाडिसकेकाले उनी मृत्यु पखिरहेका छन् । २ लाख खर्च भइसक्यो रे र अब उनको परिवार सँग लगभग ५ हजार जति छ कि भन्ने अनुमान गर्छिन् उनकी श्रीमती । एक दिन बिराएर सँधै गर्नुपर्ने उनको डायलसिसको खर्च प्रतेक चोटि १५ हजार लाग्छ, कहिले सम्म पुर्याउछन् त ?
यो अवश्थामा दिपक मृत्यु नजिकिएकोमा भन्दा चलचित्र क्षेत्रबाट दुइ चार जना बाहेक कोहि पनि एक चोटि भेट्न सम्म नआएकोमा दुखी छन् । चलचित्र क्षेत्रमा छँदा घनिष्ठ भएका साथीहरु पनि आज कता छन् कता । यो सब भोग्दा कहिले काँहि, मैले कुनै गलत क्षेत्रमा त जीवन समर्पित गरिन भन्ने लाग्छ भन्छन् उनी । उनकी श्रीमती चलचित्रकर्मीहरुलाई यस्तो भन्छन्, "बिरामी दिपक मात्र हुने होइनन्, कुनै दिन तँपाई पनि हुनसक्नुहुन्छ । पैसा नै ठूलो कुरो होइन, बोलीले सहानुभुति दिन सिक्नुहोस्।" अन्त्यमा दिपक भन्छन्, "मेरो कथा सुनेर भविष्यमा नेपाली कला साहित्य क्षेत्रलाई गलत ढङ्गमा लिन्छन् कि भन्ने डर छ मलाई ।"

यहि तँपाई दिपक आलोकलाई सहयोग गर्न चाहनुहुन्छ भने तँपाई उनका दाई गोपाल काफ्लेलाई ९७७-९८०४३०६३१४मा सर्म्पर्क गर्न सक्नुहुन्छ ।

No comments: